लेटाङ । लेटाङकी एक युवतीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको छ । लेटाङ नगरपालिका वडा नम्बर ४ की ३० वर्षीया विनिता तामाङको विराट नर्सिङ होममा उपचारका क्रममा आज मंगलबार विहान मृत्यु भएको हो ।
लेटाङ ४ मा रहेको बंगालीको क्लिनिक भनेर चिनिने जनप्रिय मेडिकलमा उपचार गराइरहेकी तामाङलाई क्लिनिकले हिजो सोमबार साँझ सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर पठाएको थियो । यसअघि बिरामी परेपछि तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते शुक्रबार जनप्रिय मेडिकलमा लगेका थिए ।
सामान्य उपचार गराएर घर फर्काइएकी उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि परिवारका सदस्यले सोमबार पुनः सोही मेडिकलमा पुर्याएका थिए । त्यसपछि मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरेपछि तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङका परिवारजनले मेडिकलमा डेंगू लागेको भनेर उपचार गराइरहेकोमा विराटनगरको अस्पतालले भने निमोनियाका कारण मृत्यु भएको बताएको जानकारी दिएका छन् । आफन्त र परिवारका सदस्यले मेडिकलले उपचारमा लापरवाही गरेका कारण मृत्यु भएको भन्दै शव मेडिकल अगाडि राखेर मंगलबार दिउँसो प्रदर्शन र नाराबाजी गरे । उनीहरुले मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
मेडिकल अगाडी भेला भएका आफन्त र परिवारका सदस्यले समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै मेडिकल विरुद्ध नाराबाजी गर्दै कारबाहीको माग राखेर प्रदर्शन गरे । अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अहिले अवस्था सामान्य भइ सकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।
यसअघि लेटाङकै दीर्घायू मेडिकलमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । मेडिकलमा उपचार गराइरहेका लेटाङ ७ का एक बालकको रेफर गरेर विराटनगर पुर्याएको भोलिपल्ट मृत्यु भएपछि स्थानीय र आफन्तले मेडिकल अघि प्रदर्शन गरेका थिए । मेडिकलहरुले निकै ढिलो गरि रेफर गरिदिंदा ठूला अस्पतालमा पुर्याएपनि विरामीले ज्यान गुमाउनु परिरहेको छ । यसतर्फ स्थानीय सरकारले आवश्यक नियमन गर्न आवश्यक देखिन्छ ।