२०८३ साल ब‌ैशाख ५ गते शनिवार

घनश्याम खतिवडाले देखाएको अपत्यारिलो सपना, बन्ने भो तमोर चिसाङ डाइभर्सन परियोजना (भिडियोसहित)

लेटाङ । २०७४ सालको संघीय निर्वाचनमा भोट माग्दै गर्दा मोरङ क्षेत्र नम्बर १ का पूर्वसांसद् तथा हाल नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जनतालाई देखाउनु भएको एउटा अपत्यारिलो सपना थियो तमोर चिसाङ डाइभर्सन योजना ।

तमोरको पानी सुरुङ खनेर चिसाङ खोलामा झार्ने अनि मोरङ, सुनसरी र झापासम्म सिंचाई, खानेपानी लगायतका लागि उपलब्ध गराउने, घनश्याम खतिवडाले चुनावी सभामा भाषण गरिरहँदा स्वयम् पार्टीका नेता कार्यकर्ताहरुले पनि यो कुरालाई सायदै पत्याएका थिए होलान् ।

चुनावमा हावादारी आश्वासन बाँडिएको भनेर खतिवडा सामाजिक सञ्जालमा आलोचनाको सिकार पनि हुनुभयो । तर उहाँले  २०७४ सालको चुनाव जितेर गएको करिव ५ महिना पछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला आर्थिक वर्ष ०७५÷०७६ मा सरकारको नीति तथा कार्यक्रममा समावेशका लागि यो विषय उठान गर्नुभयो र फलस्वरुप बजेटमा सम्बोधन पनि भयो । 

२०७६ साल जेठ १५ गते केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा नदी पथान्तरण आयोजना अन्तरगत तमोरको पानी चिसाङ खोलामा झार्नका लागि प्रारम्भिक संभाव्यता अध्ययन गर्न भनि बजेट विनियोजन गरि राष्ट्रिय गौरवको योजनाको रुपमा समावेश गरियो । त्यसपछि तमोर चिसाङ बहुउद्देश्यीय परियोजनाको रुपमा हरेक वर्ष जसो बजेटमा सम्बोधन हुँदै आयो र प्रारम्भिक संभाव्यताको काम समेत सकियो ।  

तमोर नदीमा डाइभर्सन बनाउने पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका आसपासको प्रभाव क्षेत्रमा जग्गा अधिग्रहणका लागि प्रकृया समेत अघि बढाइएको छ । प्रारम्भिक संभाव्यता अध्ययन सकेर हाल विस्तृत परियोजना अध्ययनको काम अघि बढेको छ ।

तमोरदेखि मोरङको लेटाङ १ लोखरा आसपासको क्षेत्रसम्म २५ किलोमिटर सुरुङ बन्नेछ र विद्युत उत्पादनका लागि पावरहाउस पनि लोखरा क्षेत्रमै निर्माण हुनेछ । जसबाट ४७ मेगावाट विद्युत उत्पादन हुनेछ । 

लोखरा आसपासकै क्षेत्रमा चिसाङ खोलामा ड्याम निर्माण गरि पूर्व र पश्चिमतर्फ २ वटा नहर सञ्चालन हुनेछन् । ति नहरको सिंचित क्षेत्र पूर्वमा झापको कन्काइ माइ नदी र पश्चिममा कोशी नदी आसपासको क्षेत्रसम्म रहनसक्ने जलश्रोत तथा सिंचाई विभागका उपमहादिर्नेशक दिनेर रजौरियाले जानकारी दिनुभयो । दुवैतर्फ गरि कूल १ लाख ७ हजार हेक्टर क्षेत्रमा सिंचाई सुविधा उपलब्ध हुनेछ । 

यहि परियोजना अन्तरगत तमोर क्षेत्रमा अर्को निकै ठूलो जलविद्युत आयोजना पनि निर्माण हुनेछ । जसका कारण यस बहुउद्देश्यिय परियोजनाबाट सिंचाई, खानेपानी, विद्युत उपलब्ध हुनुका साथै पर्यटन विकास समेत हुने देखिएको छ ।

यस परियोजनाबाट प्रत्यक्षरुपमा मोरङ, झापा, सुनसरी, धनुकटा, पाँचथर र तेह्रथुम क्षेत्रका वासिन्दाले लाभान्वित हुनेछन् भने देशको विद्युत उर्जा उत्पादनमा निकै महत्वपूर्ण योगदन पुग्नेछ । 

घनश्याम खतिवडाले २०७४ सालदेखि जनतालाई देखाएको अपत्यारिलो सपना अब कार्यान्वयनमा आइसकेको छ । आज शनिबार जलश्रोत तथा सिंचाई विभागका उपमहानिर्देशक दिनेश रजौरिया नेतृत्वको टोलीले लेटाङ १ लोखरा पुगेर पावरहाउस र ड्याम बन्ने क्षेत्रको अवलोकन गरेको छ । सो स्थानको अवलोकन पश्चात रजौरियाले अब १ महिनाभित्र परामर्शदाताहरुको टोली स्थलगत रुपमा आइ काम सुरु गर्ने जानकारी दिनु भएको छ ।  

यता लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावतीले यसअघि मौखिम रुपमा मात्रै काम सुरु भएको भनिएकोमा अब भने स्थलगत रुपमा टोली आएर काम अघि बढेको भन्दै खुशी व्यक्त गर्नभुयो ।

आयोजनालाई कतिपयले हावदारी गफ भन्ने गरेको स्मरण गर्दै उहाँले केपी शर्मा ओली प्रधानमन्त्री र घनश्याम खतिवडा सांसद भएको बेला नेपाल सरकारले बजेटमा समावेश गरि अघि बढाएको योजना यथार्थतामा परिणत हुन लागेको भन्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

भिडियो हेर्न  https://fb.watch/p_axaAIOjA/  मा क्लिक गर्नुहोला । 


प्रतिक्रिया