मोरङ । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौटको कार्य अन्तिम चरणमा पुगेको छ । असोज १२ र १३ गते विराटनगरमा हुन लागेको प्रथम प्रदेश अधिवेशनका लागि कोशी प्रदेशका १४ जिल्लाका भूगोल र जनसंगठनबाट प्रतिनिधि छनौट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
हालसम्म कोशी प्रदेशका १४ जिल्ला मध्ये १२ जिल्लाबाट प्रतिनिधि छनौट सम्पन्न भएको छ अधिवेशनका लागि कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनीत गरेर १ हजार ४७ जना प्रतिनिधिहरू चयन हुनेछन् ।
ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १ सय ८१, संखुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १ सय ७८, सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसंगठनबाट ५६ र मनोनीत ५० जना प्रतिनिधि छनोट हुने छन् ।
जसमध्ये भूगोलबाट ९ सय ६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनोट हुँदा ३ सय ३४ जना भने महिला प्रतिनिधि छनौट हुने छन् ।
संघीय संरचना अन्तरगत प्रदेश निर्माण भएपछि नेकपा एमालेले पहिलोपटक अधिवेशनमार्फत नेतृत्व चयन गर्न लागेको हो । कोशी प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा, विनोद ढकाल, संखुवासभाका तुलशी न्यौपाने र धनकुटाका टीकाराम चेम्जोङ आकांक्षी रहेका छन् ।